छाउगोठमा हातखुट्टा बाँधेर किशोरीको बलात्कार, भेटिएकी थिइन् अचेत

न्युजलय ५ असार २०८१, बुधबार ०४:१२ मा प्रकाशित

अछाम । अछामको छाउगोठमा एकजना किशोरी बलाकृत भएकी छिन् । मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी छाउगोठमा मंगलबार बिहान अचेत अवस्थामा भेटिएकी हुन् ।


पिडित किशोरीलाई उद्धार गरेर अस्पताल लगिएको छ भने मामा नाता पर्ने १७ वर्षका किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 


आँखा, घाँटी, हातमा कपडाले बाँधेर बलात्कार गरेको किशोरीले बताएकी छिन्। बलात्कारको घटनामा अन्यको पनि संलग्नता रहेको आशंका गरिएको छ। सोमबार साँझ छिमेकीको घरमा जन्मदिनको नाचगान चलिरहेको बेला घटना घटेको एकजना स्थानीयले बताए। 


अछाममा पुनः धमाधम छाउगोठ निमार्ण हुन थालेका छन्। रजस्वलामा घरै बस्न थालेका किशोरी तथा महिलाहरु फेरि छाउगोठमै फर्कन थालेका छन्। २०६३ साल यता अछाममा १४ जना महिला तथा किशोरीहरुले छाउगोठमा ज्यान गुमाएका छन् ।


अधिकारकर्मी र प्रशासनले छाउगोठ भत्काउने अभियान चलाउँदै आएकोछ । हालसम्म १० हजारभन्दा बढी छाउगोठ भत्काइएको छ ।