‘ए मेरो हजुर ४’को शिर्ष गीतमा सार्वजनिक (भिडियोसहित)

न्युजलय २८ माघ २०७८, शुक्रबार ०७:१४ मा प्रकाशित

काठमाडौं । बैशाख १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ४’को शिर्ष गीत सार्वजनिक भएको छ । आज काठमाडौको वान सिनेमाज्मा आयोजित कार्यक्रममा चलचित्रको शिर्ष गीत सार्वजनिक गरियो ।


शिर्ष गीतमा ‘ए मेरो हजुर’मा समावेश ‘फूलको थुंगा हौ कि’ बोलको हुक लाइन समावेश गरिएको छ । संगीतकार कल्याण सिंहले हुक लाइनसँगै नयाँ संगीत गीतमा प्रयोग गरेका छन् । रवि मल्लले शब्द कोरेको गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ ।

 

गीतमा चलचित्रका मुख्य कलाकारहरु नायक अनमोल केसी र नायिका सुहाना थापालाई रोमोन्टिक अवतारमा देखाइएको छ । शे–फोक्सुन्डोको रमणीय दृश्यमा छायांकन गरिएको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ । भिडियोलाई संजय लामाले उत्कृष्ट तरिकाले क्यामेरामा कैद गरेका छन् ।


झरना थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा मीत्र डी गुरुङको सम्पादन छ । झरना थापा र स्वर्गिय छेतन गुरुङको कथा रहेको चलचित्रमा झरना थापा, छेतन गुरुङ, मन्दिप गौतम, बाबुराम दाहाल, प्रतिक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ ।