जनतालाई सास्ती, फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

न्युजलय ११ जेठ २०७९, बुधबार ०९:५७ मा प्रकाशित

काठमाण्डौ । सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा बढाएको छ ।

लामो दूरीका सार्वजनिक सवारीको भाडा तीन प्रतिशतसम्मले वृद्धि भएको हो ।

यातायात व्यवस्था विभागले हिजोदेखि यात्रुवाहक सवारीमा दुई दशमलव १ प्रतिशतले भाडा बढाएको हो ।

पहाडी सडकमा सञ्चालन हुने मालवाहक सवारीमा २ दशमलव ७ प्रतिशत र तराईमा सञ्चालन हुने मालवाहक सवारीमा ३ प्रतिशतले भाडा बढेको विभागले जनाएको छ ।

इन्धनको बजारमूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा विभागले सोहीअनुसार भाडा समायोजन गर्ने गरेको छ । गत साता मात्र अन्तरप्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले वृद्धि भएको थियो ।

पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै यातायात व्यवसायीले भाडा बढाउन आग्रह गर्दै आएका थिए ।