बागलुङ । बागलुङको बुर्तिवाङमा प्रिन्सिपलको कुटाइबाट एक विद्यार्थी गम्भीर घाइते भएका छन्।
ढोरपाटन नगरपालिका –१ बुर्तिवाङ स्थित न्यू मोर्डन एकेडेमीमा कक्षा ९ मा अध्ययन गर्ने तमानखोला गाउँपालिका–२ भयबोङ्गाका १५ वर्षीय हिक्मत विक प्रिन्सिपल दीपक कुँवरको कुटाइबाट गम्भीर बनेका हुन्।
घाइते विकको शरीरका विभिन्न अंगहरुमा निलडाम छन्। टाउकोमा ठूलो चोक पुगेको हुँदा उनीलाई रिंगटा लागेर उठ्न नसक्ने भएको विककी आमाले जानकारी दिइन्।
विकलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपश्चात पोखरा लगिएको उनकी आमाको भनाइ छ। छोराले हिजो रातिदेखि वान्ता गरेको र खानासमेत नखाएको भन्दै शिक्षकलाई कडा कारबाही हुनु पर्ने बताइन्। उनले प्रिन्सिपल कुँवरले पाइपले आफ्नो छोरालाई निर्घात कुटपिट गरेको बताइन्।
विद्यालयका प्रिन्सिपल दीपक कुँवरले आफूले त्यसरी कुटपिट नगरेको बताएका छन् । शिक्षकले पढाउँदै गर्दा स्यानिटाइजरको बोतल पङ्खामा फालेको र उछिट्टिएर पढाउँदै गरेका शिक्षक करण कुँवरलाई लागेर निधारमा चोट लागेपछि सामान्य सम्झाई बुझाई गरेको प्रिन्सिपल कुँवरले बताए ।