मौसमका कारण त्रिभुवन विमानस्थलको आन्तरिक उडान प्रभावित

न्युजलय १५ चैत २०७८, मङ्गलबार ०२:२९ मा प्रकाशित

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । मौसम बदलीले भिजिबिलिटी कम हुँदा विमानस्थलमा ‘आईएफआर’ उडान मात्रै सञ्चालन भएकाले आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । 


विमानस्थलको उडान प्रभावित भएको सूचना आन्तरिक उडानका वायुसेवा कम्पनीले उडान डिले भएको सूचना यात्रुलाई गराएका छन् । बढीमा चार घण्टासम्म आन्तरिक उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए ।

 

उनकाअनुसार आज बिहानैदेखि उडान प्रभावित भएको छ । प्रतिकूल मौसमका कारण बुद्ध एयरले तुम्लिङटार गन्तव्यमा दुई उडान रद्द गर्नुपरेको र बाँकी सबै गन्तव्यमा साँझ अबेरसम्म उडान भइरहेको कम्पनीले जनाएको छ ।


कम भिजिबिलिटीले विमानस्थल आईएफआर अप्रेसन सञ्चालनमा जानेबित्तिकै उडान प्रभावित हुन्छ ।  


हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । काठमाडौँ उपत्यकाको आकास आज दिनभरजसो बदली रह्यो ।


अझै केही दिन उडान प्रभावित हुनसक्ने आँकलन गरी हवाई सेवा प्रदायक कम्पनीले यात्रुलाई समयमै सूचना पुर्‍याउने प्रयास गरिएको जनाएका छन् । 


यात्रुले टिकट काट्दा सही सम्पर्क नम्बर राखेमा सम्बन्धित यात्रुलाई मोबाइलमै सूचना जाने कम्पनीले जनाएको छ । यती एयरलाइन्स, श्रीएयरलाइन्सलगायत कम्पनीको उडान पनि सामान्य प्रभावित भएको छ ।