हेवाखोला बाढीपीडितलाई संखुवासभा समाज कतारको नगद सहयोग

न्युजलय १९ साउन २०८०, शुक्रबार ०७:३७ मा प्रकाशित

संखुवासभा । संखुवासभाको पाँचखपन र चैनपुर नगरपालिकाबीचमा रहेको हेवाखोला बाढीपीडितलाई संखुवासभा समाज कतारले नगद सहयोग उपलब्ध गराएको छ।

शुक्रबार एक कार्यक्रमबीच हेवाखोलामा आएको बाढीको कारण मृत्यु तथा बेपत्ता हुने पाँचखपन नगरपालिकाका चारजना र चैनपुर नगरपालिकाका एकजना गरी पाँचजनाको परिवारलाई संखुवासभा समाज कतारले प्रतिपरिवार ४३ हजारका दरले कुल दुई लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो।

बाढीपीडितहरूलाई पाँचखपन नगरपालिकाका मेयर विपिन राई र संखुवासभा समाज कतारका सदस्य पृथबहादुर थापाले संयुक्त रूपमा नगद रकम हस्तान्तरण गरेका थिए।

गत २ असारको राति आएको अविरल वर्षाले पाँचखपन र चैनपुर नगरपालिकाबीचमा रहेको हेवाखोलामा बाढी आउँदा सुपरहेवाखोला हाइड्रोपावारमा कार्यरत १६ जना, अपरहेवाखोला हाइड्रोपावारमा एकजना, अमर कन्स्ट्रक्सनमा एकजना र सभापोखरी– २ सुनाम्लामा दुई गरी २० जनाको मृत्यु भएको थियो।