काठमाडौं । प्रेस काउन्सीलले नेपाल आज डटकमलाई कालोसूचीमा राखी कारवाही अघि बढाउने निर्णय गरेको छ ।
काउन्सील अन्तर्गतको आचारसंहिता अनुगमन उपसमितिको आज बसेको बैठकले उक्त अनलाइनलाई विज्ञापन, प्रेस पास तथा अन्य सेवा–सुविधा उपलब्ध नगराउन सञ्चार मन्त्रालयलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
नेपाल आजले पत्रकारिताको न्यूनतम मूल्य–मान्यताविपरित सीमाबाहिर गई पेशाको चरम दुरुपयोग गरेको काउन्सीलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
साथै, उक्त अनलाइनका विरुद्ध दुई वर्षदेखि व्यक्तिगत जीवनमा आँच आउने गरी कार्यालयको ल्यान्डलाइनबाट पटक–पटक फोन गरी हैरानी दिने गरेको आरोप महिला पत्रकारबाट समेत परेको काउन्सीलको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी काउन्सीलले पटक–पटक दिएको निर्देशनलाई अवज्ञा गरेको भन्दै सगरमाथा खबर डटकमलाई पनि कालोसूचीमा राखिएको छ ।
काउन्सीलले २०७८ साउनदेखि फागुन १२ गतेसम्म विभिन्न मिडियाविरुद्ध १३२ वटा उजुरी, ८ जनगुनासो दर्ता भएकोमा हालसम्म ८१ उजुरी र ४ जनगुनासो फछ्र्यौट भएको जनाएको छ ।
विज्ञप्तिमा जनाइएअनुसार १०८ वटा दर्ता÷सूचीकरण नभएका वेव पोर्टलहरु नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था गरिएको छ । यस अवधिमा दुई सञ्चारमाध्यम अवज्ञाकारी सूचीमा परेको काउन्सीलले जनाएको छ ।