काठमाडौ । अब सरकारी पदाधिकारी र कर्मचारीले ‘तेलको कुपन’ को साटो नगद पाउने भएका छन् ।
अर्थ मन्त्रालयले एक कार्यविधि जारी गरेर सरकारी पदाधिकारी तथा कर्मचारीलाई डिजेल–पेट्रोल र मोबिल भर्न कुपनको साटो सोझै नगद दिने व्यवस्था गर्न लागेको हो । उपसचिव र त्यसभन्दा तल्ला तहका कर्मचारीले गाडी सुविधा पाउने व्यवस्था नै नभएपनि धेरैले गाडी र इन्धन सुविधा लिइरहेका छन् । कुपनको नाममा अनियमिता भएपछि सरकारले बजेट भाषणमै यो घोषणा गरेको थियो ।
लामो सयमदेखि ‘तेलको कुपन’ मा बद्मासी हुने गरेको थियो । कर्मचारीले आसेपासे र आफन्तहरुलाई कुपन बाँड्ने गरेका छन् । कहिलेकाहिँ त सवारी चालक अनि कर्मचारीहरुले पनि पाएको कुपनबाट तेल नहाली १५ देखि २० प्रतिशत घटेर पैसा पेट्रोल पम्पबाट बुझ्ने गर्छन् ।
यो नियमपछि कर्मचारीले रकम पाउने र त्यसैबाट इन्धन किन्नेछन् । यसले खर्च घटाउने अनुमान गरिएको छ ।