इटहरी । खराब मौसमका कारण त्रिभुवन विमानस्थलले आन्तरिक हवाइ उडान स्थगित गरेको छ ।
विमानले बाटो (एयर वे) पहिचान गरी उडान भर्न आवश्यक पर्ने भिजिविलिटी नपुगेपछि देशका कुनै पनि आन्तरिक गन्तव्यमा उडान भर्न नसकिएको त्रिभुवन विमानस्थलले जनाएको छ ।
मौसममा सुधार देखिनासाथ तालिकाअनुसार उडान नियमित गर्ने जनाउँदै विमानस्थलले उडान रद्द भने गर्नुपर्ने अवस्था नआउने बताएको छ ।
भद्रपुर, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, तुम्लिङटार, राजविराज, नेपालगन्ज, धनगढीलगायत अधिकांश विमानस्थलमा भिजिविलिटीका कारण उडान ठप्प भएका छन् ।
विमानस्थलका अनुसारका आजका लागि १५० उडान हुने तालिका थियो । सबै उडान मौसममा सुधारको प्रतीक्षामा रहेका छन् ।