बीमाको रकम नआउँदा वीपीको आय आधा कम

न्युजलय १९ फाल्गुण २०७८, बिहिबार ०७:५८ मा प्रकाशित

शंकर खत्री, इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आय गत कात्तिक यता आधा कम भएको छ । 

२०७४ साल असार १ गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिष्ठानमा गत कात्तिक २७, २८ गते यता बीमा बापतको रकम नआउँदा आय आधा कम भएको हो । 

प्रतिष्ठानमा दैनिक आउने विरामीको संख्यामा ६० देखि ७० प्रतिशत्सम्म स्वास्थ्य बीमाका विरामी आउने गरेका प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए । स्वास्थ्य बीमाबापत हुने आय प्रतिष्ठानको आयमा आधा हिस्सा ओगटेको उनले जानकारी दिए । 

‘अहिले प्रतिष्ठानमा जति विरामी आउनुहुन्छ त्यसको ६० देखि ७० प्रतिशत् बीमाकै विरामी हुनुहुन्छ’, सह प्रवक्ता डा पोखरेलले भने, ‘र, जुन पर डे को इन्कम (दैनिक आय) छ त्यसको ५० प्रतिशत् बीमाबाटै आउने गरेको छ । 

यसको अर्थ अहिले प्रतिष्ठान ५० प्रतिशत् आयमा मात्रै चलेको छ ।’ बीमा कार्यक्रम सञ्चालन बापत शोधभर्नाका लागि बिमा बोर्डको दररेट अनुसार नै दाबी गरी भुक्तानी लिने प्रक्रिया अनुसार भुक्तानी प्रतिष्ठानले पाउँदै आएको थियो ।

तर, गत कात्तिक २७, २८ गतेदेखि भने प्रतिष्ठानले दाबी गरेको रकम मध्ये २६ करोड भन्दा बढी रकम बीमा बोर्डले भ्यालुएसन नगरिदिँदा भुक्तानीको प्रक्रिया नै अगाडि बढ्न नसकेको प्रतिष्ठानले जानकारी उनले जानकारी दिए ।

बीमाका रकम शोधभर्ना नहुँदा आय आधा घटेको र यसल प्रतिष्ठान दैनिक सञ्चालनमा नै समस्या देखा पर्न थालेको प्रष्तिठानमा प्रशासन प्रमुख डा. अशोक साहले बताएका छन् । 

सोहि कारण उपकुलपति ज्ञानेन्द्र गिरीमार्फत् स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई भुक्तानीका लागि मिति २०७८ फाल्गुण १५ गते लिखित रूपमै पत्राचार गरी रकम भुक्तानीको लागि अनुरोध गरिएको उनले जानकारी दिए ।

 ‘प्रतिष्ठान एउटा अटोनोमस संस्था हो । आफै कमाउ आफै खाउ गर्नुपर्छ । सञ्चालन खर्च हामीले आफै व्यहोर्नुपर्छ’, प्रशासन प्रमुख डा. साहले भने, ‘सरकारले केहि व्यहोर्दैन ।

त्यहि भएर यति ठूलो पैसा बीमा बोर्डले होल्डमा राख्दा दैनिक सञ्चालन खर्च, तलब भत्तादेखि लिएर सबै कुरामा समस्या परेको छ । यसले प्रत्यक्ष र अप्रत्यक्ष दुई असर पारेको छ । जसले गर्दा धान्न नसक्ने अवस्था सिर्जना भएको छ ।’

पटक पटक ताकेता गर्दा पनि स्वास्थ्य बीमा बोर्डले बीमा बापतको रकम भ्यालुएसन नगर्दा बीमाको रकम रोकिएको प्रतिष्ठानले जानकारी दिएको छ ।

चालु आर्थिक बर्षको गत साउनदेखि माघ मसान्तसम्म मात्र प्रतिष्ठानमा ६ हजार ५३८ जना विमितहरुले सेवा लिएको तथ्यांक रहेको छ ।

आगामी  २०७८ चैत्र १४ गतेसम्म पनि स्वास्थ्य बीमा बोर्डमा प्रतिष्ठानले दावी गरेको बीमा बापतको रकम शोधभर्ना नभए स्वास्थ्य बीमा कार्यक्रम नै बन्द गर्ने प्रतिष्ठानले बताएको छ ।