राष्ट्रकविको सम्मानमा हुलाक टिकट प्रकाशन

न्युजलय २३ मङ्सिर २०७८, बिहिबार ०२:४१ मा प्रकाशित

काठमाडौं । सरकारले राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रकविको सम्मान गर्दै हुलाक टिकट प्रकाशन गरिएको हो ।


कार्यक्रममा बोल्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वर्गारोहणपछि पनि राष्ट्रकवि घिमिरे सबैको प्रेरणाको स्रोत रहेको बताए । उनले धर्ती रहुञ्जेल नेपाल र नेपाली रहने र नेपाली रहुञ्जेल राष्ट्रकविको संस्मरण भइरहने बताए ।


मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेको योगदानलाई ताजा गराउन हुलाक टिकट प्रकाशन गरिएको उल्लेख गर्दै यो नेपालीहरुको लागि गौरवको विषय भएको बताए ।


कार्यक्रममा राष्ट्रकवि घिमिरेकी छोरी डा. किरण रेग्मीले मृत्युपछि पाएको हुलाक टिकटको सम्मान अब हरेक नागरिकका घरमा पुग्ने बताए ।