८ वर्षदेखि बन्द रहेको माली मिसनमा सशस्त्र प्रहरी बलको टोलीलाई खटाउने

न्युजलय २९ साउन २०७९, आइतबार ०६:५० मा प्रकाशित

काठमाण्डौ । संयुक्त राष्ट्रसंघको आह्वानमा अफ्रिकी मुलुक मालीमा शान्ति स्थापनाका लागि सशस्त्र प्रहरी बलको टोलीलाई खटाउने तयारी भइरहेको छ ।

सन् २०२३ को जनवरीमा नै फौज कार्यक्षेत्रमा खटाउने गरी सशस्त्रले तयारी अघि बढाएको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विदुर खड्काले बताए ।

शान्ति मिसनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको तैनाथी घटिरहेको परिस्थितिमा सशस्त्र प्रहरीले मालीमा ‘फर्म्ड पुलिस युनिट’ (एफपीयू) खटाउने भएको हो । सशस्त्र प्रहरीको अहिले एफपीयू साउथ सुडानमा खटिरहेको छ । ८ वर्ष अगाडि सशस्त्रको लाइबेरिया मिसन बन्द भएको थियो । 

मालीमा नेपाली सेनाको इन्जिनियरिङ बटालियनसमेत तैनाथ छ । मालीमा फौज खटाउनको लागि तयारी अवस्थामा रहन राष्ट्रसंघले सशस्त्र प्रहरी मुख्यालयलाई पत्रसमेत पठाइसके बताइएको छ ।