२०७८ साल माघ ६ गते बिहिबार

प्रधानमन्त्री देउवा भारतको ७३औं गणतन्त्र दिवसको प्रमुख अतिथि

न्युजलय ६ मङ्सिर २०७८, सोमबार ०१:१६ मा प्रकाशित

काठमाडौँ । भारतले ७३औं गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुखलाई प्रमुख अतिथि बनाउने तयारी गरेको छ । 

प्रधानमन्त्री देउवासहित बंगालको खाडीको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहकार्यको प्रयास (बिमस्टेक) का राष्ट्र वा सरकार प्रमुखलाई प्रमुख अतिथि बनाउने तयारी गरेको हो । 

भारतले जनवरी २६ मा गणतन्त्र दिवस मनाउने गरेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार गणतन्त्र दिवसमा आयोजना हुने मुख्य परेडको अतिथिका लागि प्रधानमन्त्री देउवासहित बिमस्टेक देशका नेताहरुसँग सम्पर्क गरिएको छ । 

सबै देशका नेताबाट कार्यक्रममा सहभागी हुने निश्चित भएपछि मात्रै भारतले अतिथिको सूची सार्वजनिक गर्नेछ । यसअघि नेपालबाट सन् १९५१ मा राजा त्रिभुवन र सन् १९९९ मा राजा विरेन्द्र गणतन्त्र दिवसको प्रमुख अतिथि बनाइएको थियो ।

भारतसहित नेपाल, बंगलादेश, भुटान, श्रीलंका, म्यान्मार र थाइल्यान्ड बिमस्टेकका सदस्य देश हुन् । सन् २०१८ मा भारतले आसियानका सरकार तथा राष्ट्र प्रमुखलाई प्रमुख अतिथिका रूपमा बोलाएको थियो । भारतले आफ्नो रणनीतिक तथा कूटनीति चासो, व्यापारिक स्वार्थ, अन्तर्राष्ट्रिय भूराजनीतिलाई ध्यानमा राखेर गणतन्त्र दिवसको प्रमुख अतिथि बनाउने गरेको छ ।

नेपालबाट पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवनमा भएको सपथग्रहण समारोहमा सहभागी भएका थिए । सन् २०२० मा ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई प्रमुख अतिथि बनाइएको थियो भने गत वर्ष कोरोना महामारीका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो भ्रमण रद्द गरेका थिए ।