कतार दूतावासले ३० जनवरीबाट राहदानीसम्बन्धी काम स्थगित गर्ने

न्युजलय १३ माघ २०७८, बिहिबार ०८:५८ मा प्रकाशित

काठमाडौं । नेपाली दूतावास कतारले राहदानीसम्बन्धी नियमित कार्यहरु स्थगित गर्ने भएको छ। दूतावासले आज एक सूचना जारी गरी ३० जनवरीबाट राहदानीसम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्ने जनाएको हो । 


नेपाल सरकारले लागू गरेको विद्युतीय राहदानी (इ–पासपोर्ट) नेपालमा राहदानी विभाग तथा केही जिल्लाबाट जारी भइसकेको छ ।


यस कार्यका लागि नयाँ प्रणाली जडान गर्नुपर्ने भएकोले सो को तयारीलगायत अन्य कार्यका लागि उल्लेखित मितिदेखि अर्को सूचना जारी नभएसम्म यन्त्रवाचक राहदानी (एमआरपी) नवीकरण गर्ने र नयाँ बनाउने कार्य स्थगन गरिएको दूतावासको सूचनामा जनाएको छ।


अबको केही दिनभित्रै विद्युतीय राहदानी (इ–पासपोर्ट)को लागि आवेदन लिने कार्य सुरुवात गरिने र सो कार्यका लागि दूतावासले अर्को सूचना जारी गर्ने बताएको छ।


अत्यावश्यक अवस्था अर्थात् कतार बसाइ अवैधानिक हुने अवस्था आएमा मात्र यन्त्रवाचक राहदानी नवीकरणको लागि आवेदन लिइने जनाउँदै दूतावासले सामान्य अवस्थामा राहदानीसम्बन्धी कुनै पनि आवेदन नलिने बताएको छ।


राहदानी हराएका वा म्याद सकिएर जरुरी अवस्थामा नेपाल जानेहरुको हकमा यात्रा अनुमति पत्र जारी गरिने कार्यालयले जनाएको छ।