ललिता निवास प्रकरणः चार जनालाई म्याद थपका लागि अदालत लगियो

न्युजलय १३ असार २०८०, बुधबार ०७:३८ मा प्रकाशित

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई म्याद थपका लागि अदालत लगिएको छ। 

बुधबार(आज) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ परेकाहरूलाई सार्वजनिक गरेपछि उनीहरूलाई थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालत लगिएको हो। 

भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीद्वय,​​​गोपालप्रसाद कार्की र  पूर्वनिर्वाचन आयुक्त तथा सुधीर साहलाई अदालतमा म्याद थपका लागि लगिएको हो। 

सीआईबीले मंगलबार भानभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाहसहित ७ जनालाई पक्राउ गरेको थियो। 

पक्राउ परेकाहरूलाई सीआईबीले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखत कीर्तेमा  मुद्दा चलाउने र यसका लागि हदम्याद लागू नहुने बताएको छ। 

यस प्रकरणमा सीआईबीले पक्राउ गरेको सातमध्ये तीन जनालाई भने कागज गरेर छोडेको छ। पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपालीलाई पक्राउ गरिए पनि केही घण्टामै कागज गरेर छाडिएको थियो। उनीहरूलाई गत साउन १९ गते सर्वोच्च अदालतले पक्राउ नगरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न अन्तरिम आदेश दिएको थियो।