काठमाडौं । नेपाल आयल निगमले आइतबार पनि सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ ।
निगमले सरकारलाई पत्र लेख्दै सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घटाएर इन्धनको खपत कम गर्ने गरी थप एक दिन बिदा दिन प्रस्ताव गरेको हो ।
इन्धन मूल्य वृद्धिको मारबाट निगमलाई जोगाउन यस्तो उपायमा विचार गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरिएको निगमले जनाएको छ ।
अत्यवश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारी साधनमा जोर बिजोर लागू गर्न तथा आइतबार पनि सार्वजनिक बिदा दिन आग्रह गरिएको उनले बताए ।
मन्त्रालयलाई १० बुँदामा लिखित माग बुझाउँदै निगमले लेखेको पत्रमा पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार विकास शुल्क घटाउन माग पनि गरिएको छ ।
पेट्रोलियममा प्रतिलिटरमा १५ रुपैयाँ मूल्य कर घटाउन र ग्याँसमा २०० रुपैयाँ कम गर्न निगमले सरकारसँग माग गरेको छ ।