साम्प्रदायिकताले होइन, एकताले देश बन्छ : ओली

न्युजलय २६ मङ्सिर २०८०, मङ्गलबार ०७:५८ मा प्रकाशित

ओखलढुङ्गा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले साम्प्रदायिकतालाई भित्रभित्रै बढावा दिएको आरोप लगाएका छन् ।


ओखलढुंगाको हर्कपुर मानेभन्ज्याङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन सरकार साम्प्रदायिकताको जगमा उठेको र साम्प्रदायिकतालाई प्रोत्साहन गरेको आरोप लगाएका हुन् ।


नेकपा एमालेले थालेको पुष्पलाल मध्यपहाडि लोकमार्ग केन्द्रित झुलाघाट चिवा भञ्ज्यांग समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आयोजित सभामा बोल्दै उनले साम्प्रदायिकताले देश नबन्ने समेत बताएका छन् । 


‘जनताका बिचमा फाटो ल्याएर देश बन्दैन,’ उनले नेकपा एमालेले मात्र राष्ट्रिय एकताको संबद्र्धन गर्ने बताउँदै उनले भने, ‘देश बनाउन बलियो राष्ट्रिय एकता र समझदारी चाहिन्छ र त्यो काम एमालेले मात्र गर्न सक्छ ।’ 


उनले सामाजिक एकताको पक्षमा नेकपा एमाले मात्रै उभिएको बताउँदै एमालेले मात्र सामाजिक न्याय र समानताका आधारमा सामाजिक सद्भाव, सामाजिक सद्भावबाट राष्ट्रिय एकता र त्यसबाट देश विकासको नीति लिएको बताए । नेकपा एमालेले साम्प्रदायिकताको विपक्षमा आवाज उठाएको बताउँदै आफूहरुले मात्र सबैलाई एकजुट बनाएर देश विकासको नेतृत्व गर्न सक्ने बताए ।


उनले राजनीतिक विचारमा भएका मतभेदहरुलाई वैधानिक प्रक्रिया र शान्तीपूर्ण बाटोबाट औचित्य पुष्टि गर्नुपर्नेमा जोड दिँदै अशान्ती र अराजकताले देश नबन्ने बताएका छन् । 


देश अहिले अफ्ठेरोमा परेको बताउँदै उनले त्यसबाट निकाल्न सबैले भुमिका खेल्नुपर्ने बताए । उनले मिसन ८४ लाई सफल बनाउन सबैसँग आह्वान गरे । 


‘हामीले भनेको मिसन ८४ एमालेको लागि मात्र होइन, देशका लागि आवश्यक छ,’ उनले यो अभियान कसैका विरुद्ध नभएको बताउँदै भने, ‘नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिको नेतृत्वमा सबल राष्ट्रिय शक्तिको एकल बहुमत एकल सरकार बन्नुपर्छ ।’ 


उनले अन्य पार्टीहरुलाई पनि साथ लिएर हिड्न तयार रहेको तर बहुमत भने एमालेको आवश्यक पर्ने बताए ।