उर्लाबारी । मोरङको उर्लाबारीमा गए राती भएको आगलागीमा परि कम्तिमा २० जना घाइते भएका छन् । घाइते हुनेमध्ये चार जना प्रहरीहरू छन् ।
लक्ष्मीपुजा गर्ने क्रममा राती १० बजे स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको थियो । आगो निभाउने क्रममा पुगेकाहरु आगलागीमा परेको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
घटनास्थलमा आगो निभाउन र उद्धार कार्यमा खटिएका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधान, प्रहरी सहायक हवल्दार मनबहादुर घिसिङ, प्रहरी जवानहरू रितिकिरण राई र दिलकुमार आचार्य गम्भीर घाइते भएका हुन् । इप्रका उर्लावारीका इन्सपेक्टर देवेन्द्र दासका अनुसार सहायक हवल्दार घिसिङलाई बी एन्ड सी अस्पताल रिफर गरिएको छ । अन्यको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका लागि पठाइएको छ ।
आगो लागेको करिब ३ घण्टापछि मध्यरात १२ बजे नियन्त्रणमा आएको छ ।
यस्तै यता विराटनगरको सातघुम्ती मोडस्थित जगतलक्ष्मि पसलमासमेत राती आगलागी भएको छ । इलेक्ट्रोनिक्स र प्लाष्टिकका सामान रहेको सो पसलमा लक्ष्मीपुजा गर्ने क्रममै आगो सल्किएको हो ।