दक्षिण कोरियामा एकै दिन झण्डै पाँच लाखमा कोरोना पुष्टि

न्युजलय ९ चैत २०७८, बुधबार ०१:५५ मा प्रकाशित

 एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित थपिन थालेका छन् । 

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१ जना नयाँ सङ्क्रमित भएका हुन । 

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या एक करोड चार लाख २७ हजार २४७ पुगेको छ । कोरिया रोग नियन्त्रण तथा व्यवस्थापन निकायका अनुसार यसअघि तीन लाख ५३ हजार ९६८ नयाँ सङ्क्रमित थपिएका थिए । 

कोरोना भाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरसका कारण सङ्क्रमितहरुको सङ्ख्या यसरी अत्यधिक बढेको अधिकारीहरुको भनाई छ । नयाँ सङ्क्रमित मध्ये एक लाख एक हजार १३३ जना राजधानी सोलका मात्रै रहेको अधिकारीहरुले जनाएका छन् ।  

सङ्क्रमित भएका मध्ये एक हजार ८४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । पछिल्लो एक दिनमा कोरोनाका कारण २९१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या १३ हजार ४३२ पुगेको छ ।