उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित एक सुन पसलमा गत कात्तिक २६ गते भएको आगलागीमा परी गम्भीर घाइते भएका ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा मङ्गलबार(आज) बिहान मृत्यु भएको छ ।
स्थानीय दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलमा लक्ष्मी पूजाको राति अचानक आगलागी सुरु भएको थियो । आगो नियन्त्रण प्रयासमा गएका चार प्रहरी र २४ स्थानीय गरी २८ जना घाइते भएका थिए ।
घाइतेहरूको काठमाडौस्थित बर्न अस्पताल कीर्तिपुरमा उपचार भइरहेको थियो । घाइतेमध्ये उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा आज मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ । उपचाररतमध्ये गम्भीर अवस्थाका आठ जनाको आइसीयूमा उपचार भइरहेको छ ।