काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको कारण आज पनि देशका अधिकांश क्षेत्रको मौसम बदली भएको छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आज दिनभरी मौसम सामान्य देखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, मधेस र बागमती प्रदेशमा भने अन्य प्रदेशको तुलनामा यतिबेला मौसम सफा छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा अहिले पनि हल्का देखि मध्यम वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।
भोलि पनि देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
मंगलबार देशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।