काठमाडौ । आज जेठ १९ । २१ बर्ष अघि २०५८ सालको जेठ १९ मा तात्कालिन राजा वीरेन्द्रको वंश सखाप भएको दिन । मध्यरात दरबारमा भएको गोलीकाण्डमा वीरेन्द्रसहित उनका १० जना नातागोताको ज्यान गएको थियो ।
त्यो दिन नारायणहिटी राजदरबारभित्रै राजा, रानी, राजकुमार, अधिराजकुमारी र अधिराजकुमारसहितको हत्या भएको थियो ।
तत्कालीन राजा ज्ञानेन्द्रले सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट र विपक्षी दलका नेता माधवकुमार नेपाल रहेको उच्चस्तरीय छानबिन समिति बनाए । तर, विपक्षी दलका नेता माधवकुमार नेपाल आयोगमा पहिले बस्न मानेर पनि पछि बसेनन् । एक हप्तामा दुई सदस्य रहेको उच्चस्तरीय जाँचबुझ आयोगले युवराज दीपेन्द्रलाई घटनाको मुख्य अभियुक्त करार गरेर मदिरा र नाम नखुलेको कालो पदार्थ सेवन पश्चात उक्त जघन्य अपराध गरेको किटान गर्यो ।
आजका दिनसम्म पनि मानिसहरुले उक्त आयोगको प्रतिवेदनलाई स्वीकार गरेका छैनन् । कतिपयले वीरेन्द्रका भाई तथा त्यसपछि नेपालका नयाँ राजा ज्ञानेन्द्र शाहलाई घटनाको योजनाकार शंका गरेका थिए । किनकी उक्त घटनाको समयमा ज्ञानेन्द्र त्यहाँ थिएनन् भने त्यहाँ रहेका पारस बाँच्न सफल भएका थिए । तर उक्त आरोप पुष्टि हुन सकेन । प्रत्यक्षदर्शीहरुको पालैपालो मृत्युपछि उक्त हत्याकाण्ड इतिहासको गर्भमै हराएको छ ।