काठमाडौँ । भारतले आर्थिक वर्ष २०२२/०२३ मा नेपाललाई १२ अर्ब (भारु ७ अर्ब ५० करोड) रुपैयाँ अनुदान दिने भएको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले मंगलबार(आज) लोकसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०२२/२३ को बजेटमा १२ अर्ब रुपैयाँ विनियोजन गरेको उल्लेख छ ।
गतवर्ष भारतले १५ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । तर पछि त्यसलाई घटाएर १० अर्ब ४० करोड रुपैयाँमात्रै प्रदान गरेको थियो । भारतले नेपाललाई गतवर्ष प्रदान गरेको वास्तविक अनुदानभन्दा यस वर्ष बढी बजेट विनियोजन गरेको हो ।
भारतले नेपालसहित मरिसस, सिसेल्स, म्यानमार, अफगानिस्तान, भुटान, श्रीलंका, बंगलादेश, मंगोलिया र विभिन्न अफ्रिकी देशहरू तथा मानवीय र प्राकृतिक प्रकोपका लागि ९६ अर्ब ७० करोड रुपैयाँ अनुदानका लागि विनियोजन गरेको छ ।
भारत सरकारले विभिन्न देशलाई दिने अनुदानमा भुटान पहिलो नम्बरमा छ भने मरिसस दोस्रो स्थानमा रहेको छ ।