विराटनगर । कोसी प्रदेशका पहाडी जिल्लामा बाढीले वितण्डा मच्चाएको छ । शनिबार रातिको अविरल वर्षाले पाँचथर, ताप्लेजुङ, संखुवासभालगायत जिल्लामा क्षति पुर्याएको हो ।
हालसम्म पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरमा दुई, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा एक–एकजना रहेको प्रदेश प्रहरी कार्यालय कोसीका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताएका छन् ।
बाढीमा २८ जना अझै बेपत्ता भएका छन् । सबैभन्दा धेरै संखुवासभामा २० जना हराइरहेको उनले बताए । हराएकामध्ये अधिकांश संखुवासभास्थित सुपर हेवा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी र मजदुर रहेका छन् ।
पाँचथरमा पाँचजना र ताप्लेजुङमा तीनजना हालसम्म बेपत्ता छन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कोसीका विभिन्न जिल्लामा २० घर बगाएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ ।