अनुचित ढंगले ल्याइएको बजेटको भण्डाफोर गर्न ओलीको निर्देशन

न्युजलय १७ जेठ २०७९, मङ्गलबार ०२:४९ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । 

 

सोमबार संसद भवन नयाँ बानेश्‍वरमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बजेट अनुचित, विना सिद्धान्त र प्राथमिकताको आधारमा आएको भन्दै त्यसको भण्डाफोर हुने गरी जनताको बीचमा लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् ।  

 

सरकारले ल्याएको बजेट विशुद्ध चुनावमा भोट माग्ने किसिमले आएको, मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको हावादारी रहेको निष्कर्ष समेत बैठकले निकालेको छ । बैठकमा अध्यक्ष ओली, पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडाले बजेटबारे सांसदहरुलाई प्रशिक्षण दिएका थिए । 


त्यसैगरी पार्टी निकट बौद्धिक व्यक्तित्वहरु राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कँडेल, योजना आयोगकै पूर्व सदस्य डा. दिनेश चन्द्र देवकोटाले पनि बजेटबारे आफ्नो धारणा राखेका थिए ।