मनसुन थप सक्रिय, देशभरी वर्षा हुने

न्युजलय १४ असार २०८१, शुक्रबार ०५:५१ मा प्रकाशित

 

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रवारदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । 


शुक्रवार साँझ मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले वर्षा बढ्ने भएकाले पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन भनेको छ । केही दिन मनसुनको न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको हो ।


महाशाखाले शुक्रवारदेखि आइतबारसम्म मेघ गर्जन चट्याङ, भारी वर्षा, भूक्षय, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, नदी र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।