जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोहकै कारण मधेशीले नेपालको नागरिकको सम्मान पाएको बताएका छन् ।
मधेश आन्दोलनका शहीदको सम्झनामा जनकपुरधाममा आयोजित कार्यक्रममा उनले शहीदको बलिदानकै कारण मधेशीलाई विहारी र धोती भन्न छाडिएको बताए ।
शहीदको बलिदानीकै कारण एकात्मक र निरंकुश शासन प्रणाली फ्याँकेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उनले बताए ।
लोकतन्त्र र संघीयताविरोधी शक्ति, विभेदकारी शासक वर्ग आज पनि संघीय गणतन्त्रलाई समाप्त गर्ने खेलमा लागेको भन्दै अध्यक्ष यादवले यसको रक्षा गर्नु पहिलो दायित्व भएको बताए ।
जाति र भाषा र संस्कृतिको आधारका साथै अरु धेरै आधारमा समाजमा विभेद र असमानता शोषण र उत्पीडन कायम रहेको भन्दै उनले यस्ता विभेद जडबाटै उखालेर नफ्याँकेसम्म शहीदको सपना पूरा गर्न नसकिने बताए ।