आज नेपाल बन्द : दाङमा बिहानै सवारीसाधनमा आगजनी, काठमाडौंमा सामान्य प्रभाव

न्युजलय ७ भदौ २०७९, मङ्गलबार ०१:११ मा प्रकाशित

दाङ । दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन्।


घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान करिब साढे ४ बजेको आसपासमा बबई खोलाको पुल नजिक आगजनी गरेका हुन्।

 

चार(पाँच जनाको समूहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो लगाएर भागेका थिए।

 

आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ। घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नहरूको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए।


यस्तै, काठमाडौं उपत्यकामा भने सामान्य रुपमा सवारीका साधनहरु आवतजावत भइरहेका छन्। यद्यपि सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति भने बाक्लो छ। 


चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका हुन्।


नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन्।


तीन बुँदे राजनीतिक सहमतिका विपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसिसी, भ्रष्टाचार, महंगीलगायतको कारण देशैभर बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ।