धरान । सडक दुर्घटनामा परेर स्पाइनलकर्ड इन्ज्युरी भएका चालक सोम राईको औषधी उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सञ्चालन गरेको अभियानमा रिटायर्ड ब्रिटिस आर्मीले सहयोग गरेका छन् ।
रिटायर्ड ब्रिटिस आर्मी धरान–१५ का डिल्ली तुम्रोकले नगद १० हजार १ सय सहयोग गरेका हुन् ।
अभियानको अगुवाई गरिरहेका संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईलाई रकम हस्तान्तरण गर्दै लाइन्स अफ धरान क्यालिबरका सचिव समेत रहेका तुम्रोकले संगठनले चलाएको अभियानमा सहभागी हुन पाएकोमा खुशी लागेको बताए।
चालकको उपचार बापत घोपा स्थित आमा फार्मेसीमा मात्रै १ लाख ५१ हजार ९ सय बाँकी छ, जसमध्ये सहयोगीहरु मार्फत ६३ हजार ६० रुपैया (तुम्रोकको सहयोग समेत) संकलन भएको छ ।
चालक सोम राईकी श्रीमति सकुन राईको उपस्थितिमा भएको रकम हस्तारण कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, धरान नगर कमिटी अध्यक्ष कमल भट्टराई र जिफन्ट धरान अध्यक्ष शमशेर बर्देवाको उपस्थिति रहेको थियो ।