सुनसरीमा वडाध्यक्षको हस्ताक्षर कीर्ते गरेको आरोपमा एक व्यक्ति पक्राउ

न्युजलय १० असोज २०८०, बुधबार १०:२६ मा प्रकाशित

इटहरी । सुनसरीमा वडाध्यक्षको हस्ताक्षर कीर्ते गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ । 


कोसी गाउँपालिका–७ का वडाध्यक्ष लालदेव सदाको हस्ताक्षर कीर्ते गरेको आरोपमा सोही ठाउँका ३८ वर्षीय मुनेश्वर शर्मा पक्राउ परेका हुन् । 


शर्मालाई सोमबार नै नियन्त्रणमा लिएको भए पनि वडाध्यक्ष सदाले मङ्गलबार मात्रै प्रहरीमा दिएको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


शर्माले आफू वडाध्यक्ष भएको भन्दै राष्ट्रिय भूमि आयोगको ढाँचाअनुसार भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्ने विपन्न समुदायको लगत सङ्कलन फारममा वडाध्यक्ष सदाको कीर्ते हस्ताक्षर गरेको आरोप छ । आरोपित शर्मालाई आज (बुधबार) जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिने छ । 


२७ वर्षको उमेरमा दलित समुदायबाट वडाध्यक्षमा निर्वाचित सदा कोसी प्रदेशकै कान्छो वडाध्यक्षसमेत हुन् ।