प्रचण्डद्वारा प्रस्तुत २३६ जनाको केन्द्रीय कमिटी बन्दसत्रले गर्‍यो पारित

न्युजलय १९ पुस २०७८, सोमबार ०१:१६ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी आठौँ महाधिवेशनको बन्दसत्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको २३६ जनाको केन्द्रीय कमिटी पारित गरेको छ। अध्यक्ष प्रचण्डले आज २३६ जना केन्द्रीय सदस्यको नाम बन्दसत्रमा पेश गरेका थिए।


२९९ केन्द्रीय सदस्यमध्ये हाल २३६ जनाको नाम फाइनल गरिएको हो। केन्द्रीय सदस्यमा समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ गरी २३६ जना रहेका छन्। २९९ केन्द्रीय सदस्यमा समानुपातिक तर्फका १५४ मध्ये १२५ र खुलातर्फको १४५ मध्ये १११ जनाको नाम हाल घोषणा गरिएको हो।


अब समानुपातिकतर्फ २९ जना र खुलातर्फ ३४ जना केन्द्रीय सदस्य छनोट हुन बाँकी छन्। दुवै गरी ६३ जना केन्द्रीय सदस्य थप्न बाँकी छ। १५ प्रतिशत केन्द्रीय सदस्य छनोट गर्न बाँकी रहेको भन्दै प्रचण्डले त्यसले बाँकी सबैलाई समेट्ने बताए। विधान अनुसार सो लागू गर्ने उनको भनाइ थियो।


समावेशी समानुपातिकको खस आर्यतर्फ १३ जना छन्। जसमा नारायण प्रसाद दाहाल, सूर्यराज सुवेदी, धीरेन्द्र प्रधान, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, तारानाथ स्वार, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली रअच्युतम् काफ्ले रहेका छन्।