काठमाडौं । नेकपा माओवादी केन्द्रले दोस्रो वरियता दिएर नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीमा ल्याउने तयारी थालेको छ ।
यसअघि नै पार्टी एकता गर्ने सहमति भइसकेपछि पनि कसरी एक हुने भन्ने टुंगो लागेको थिएन । बाबुरामलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछिको दोस्रो वरियता दिने आन्तरिक तयारी भएको बताइएको छ । एकतापछि पार्टीको नाम नेकपा समाजवादी राखिनेछ ।
अहिले माओवादीमा प्रचण्डपछिको दोस्रो वरियतामा नारायणकाजी श्रेष्ठ छन् । उनी पार्टीमा वरिष्ठ उपाध्यक्ष छन् । २०७२ सालमा बाबुरामले माओवादी छाड्दा प्रचण्डपछिको दोस्रो वरियतामा बाबुराम नै थिए ।
माओवादी छाडेपछि नयाँ शक्ति, जसपा हुँदै नेसपामा आइपुगेर संगठन चलाउन नसक्ने भएपछि बाबुराम पुरानै घर फर्किने तयारी गरेका हुन् ।
बाबुरामलाई उपाध्यक्ष बनाइन्छ या सहअध्यक्ष के बनाइन्छ भन्ने कुरा दुई पार्टीबिच बनेको एकता समितिले निर्णय गर्नेछ । गत चैतमा बाबुरामले वार्ता टोलीका संयोजक श्रेष्ठमार्फत् माओवादीलाई पठाएको ९ बुँदे प्रस्तावमा अध्यक्षपछि दोस्रो वरियतामा एक सहअध्यक्षको व्यवस्था हुनुपर्ने उल्लेख थियो ।
प्रचण्डले बाबुराम मात्र होइन, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलाईसमेत पार्टीमा ल्याउने तयारी थालेका छन् । उनलाई महासचिव बनाएर पार्टीमा भित्र्याउन गृहकार्य गरिरहेका छन् ।