काठमाडौ । कतारबाट मात्रै प्रत्येक महिना ७० किलो सुन तस्करी भएर नेपाल आउने गरेको खुलेको छ । तस्करहरुको संगठित समुहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्र्याउने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।
सरकारले वैदेशिक रोजगारमा गएका मजदुरलाई ५० ग्रामसम्म सुन ल्याउन अनुमति दिएको छ । सोही कानुनी छिद्रको प्रयोग गरी तस्करहरुले सुन भित्राउने गरेका थिए ।
कतार–नेपाल प्रत्येक दिन तीन वटा उडान हुने गर्छ । प्रहरीका अनुसार उडान भर्ने प्रत्येक जहाजमा तस्करले कम्तीमा १५ जना मजदुरलाई ५० ग्रामका दरले सुन बोकाएर पठाउने गर्छन् । यसरी एउटा फ्लाइटबाट मात्रै सात सय ७५ ग्राम सुन नेपाल भित्रन्छ ।
यसरी महिनामा कम्तीमा ६७ किलो पाँच सय सुन नेपाल भित्रिने गरेको प्रहरीको भनाइ छ । सुन बेचेर पाएको पैसालाई नेपाल र कतारमा रहेका तस्करहरुले भाग लगाउने गरेका छन् ।
चार वर्षमा अढाइ अर्ब रुपैयाको कारोबार भएको बैंकीङ स्टेटमेन्टले देखाएको छ ।