काठमाडौं । बुधबार प्रतिनिधिसभामा संसदीय इतिहासकै दुर्लभ दृश्य देखियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले एक्लै उभिएर रोष्ट्रम कब्जा गरे ।
अमेरिकाको एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अनुसार अमेरिकालाई पत्र पठाउन सरकारलाई रुलिङका लागि आग्रह गरे । उनले रुलिङ नगरेसम्म रोष्ट्रम नछोड्ने भन्दै उभिइरहे । सभामुख अग्निप्रसाद सापकोटाले पटक–पटक रावललाई बस्न आग्रह गरेपनि रावल नमानेपछि अन्ततः सभामुखले प्रतिनिधिसभाको बैठक नै स्थगित गरिदिए ।
२० मिनेटसम्म नडगमगाइकन रावल रोष्ट्रममा उभिइरहेका थिए । नेपालको संसद कब्जा गर्ने क्रममा कुर्सी तोडफोडसम्म भएको इतिहासमा यसरी शान्तपूर्वक संसद कब्जा हुनु अनौठो रहेको बताइएको छ । संसदको रोष्ट्रममा उभिएर सभामुखको आदेशको उलंघन गर्नु गम्भीर अनुशासन उल्लंघनको विषय भएको विज्ञहरु बताउँछन् । तर एमाले सांसदहरु भने यस्तो विरोध जायज भएको तर्क गर्छन् ।
एसपीपीको विषयमा सरकारले पत्र पठाइसकेको भनेपनि पत्र अझै नपठाएकोले दबाब आवश्यक भएको एमाले नेता सुवास नेम्वाङले बताए ।
रोष्ट्रममा उभिएर भीम रावलले भनेका थिए, ‘अमेरिकी राज्य साझेदारी कार्यक्रमका सन्दर्भमा मन्त्रिपरिषदको निर्णय, गृहमन्त्रीजी र परराष्ट्रमन्त्रीजीले त्यसमा संलग्न नहुने भनेर यही सदनमा भन्नुभएको, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशन पनि दिएको, पार्टीका सबैजसो शीर्ष नेताहरुले यसमा नेपाल संलग्न हुँदैन भनेको तर, के कुराले अड्कियो (पत्र पठाउन) ? यसकारण नेपाल सरकारलाई यस सम्बन्धमा रुलिङ होस्, निर्देशन होस् । त्यो नहुँदासम्म सम्पूर्ण देशभक्त नेपालीको आवाजलाई लिएर म यहाँबाट माग जारी राख्छु ।’