आज दिनभर पानी पर्ने सम्भावना

न्युजलय २१ माघ २०७८, शुक्रबार ०१:२५ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर पानी परेको छ । उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात भएको छ । 


गएरातिदेखि नै मेघगर्जन र चट्याङ्गसहित धेरै ठाउँमा पानी परेको हो । अहिले केही ठाउँमा पानी पर्न रोकिए पनि दिनभर झरी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।


बेलुकीसम्म नै पानी पर्ने र रोकिने क्रम चलिरहने र भोलिदेखि पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुन थाल्ने उनको भनाइ छ ।


पर्सि आइतबारदेखि मात्रै मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिए । उच्च पहाडी तथा हिमाली भूभागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् ।


पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले केही दिनदेखि मौसम बद्ली भइहेको छ ।