काठमाडौँ । राम्रो रोजगारीको प्रलोभनमा म्यानमार पुर्याइएका करिब एक हजार नेपाली महिनौँदेखि चिनियाँ आपराधिक समूहको बन्धकमा परेका छन् । चरम यातना हुन थालेपछि उनीहरूले उद्धारका लागि सरकारलाई हारगुहार गरेका छन् ।
महिनौँदेखि नै उद्धारका लागि आग्रह हुँदै आए पनि सरकारले चासो नदिएको पीडितका परिवारको गुनासो छ । पछिल्लो समय करेन्ट लगाएर चरम यातना दिन थालेपछि पीडितका परिवार हारगुहार गर्दै प्रहरी र परराष्ट्र मन्त्रालय धाउन थालेका हुन् ।
म्याओद्दी सहरमा चिनियाँहरूले गोप्य रूपमा सञ्चालन गरेको आपराधिक क्याम्पमा सयौँ नेपाली बन्धक छन् । त्यहाँ उनीहरूलाई अनलाइन ठगीका काममा लगाउने गरिन्छ । तोकेअनुसार अनलाइनमार्फत ठगी गर्न नसके करेन्ट लगाएर यातना दिने गरिएको पीडितहरूले बताएका छन् ।
फर्कन खोज्दा पनि चिनियाँले लाखौँ फिरौती माग्ने गरेका छन् । केही फिरौती बुझाएर हालै फर्किएका छन् भने बुझाउन नसक्नेहरू उद्धारको पर्खाइमा छन् । चरम यातनाका कारण कतिपय गम्भीर बिरामीसमेत भएको म्यानमारबाट शुक्रबार फर्किएका एक युवकले बताए । फर्किएका युवक १० हजार अमेरिकी डलर चिनियाँलाई बुझाएर मुक्त भएका हुन् ।
फिरौती बुझाएर हालै ६ जना फर्किएका छन् । गत शुक्रबार चार तथा आइतबार दुई नेपाली युवक काठमाडौं आइपुगेका हुन् । उनीहरूले मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएका छन् । जसका आधारमा ब्युरोले एक चिनियाँसहित दुईजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
म्यानमारबाट उद्धार गरिदिन भनेर हालै मात्र १३ जनाको निवेदन परेको छ । त्यहाँ करिब एक हजार नेपाली चिनियाँ गिरोहबाट बन्धक बनेको सूचना छ ।