काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेका छन्।
बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै मौसम विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेका हुन्।
उनले आगामी तीन दिन तराईका सबै जिल्लाहरूमा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिनसक्ने चेतावनी दिए।
उनले खोलाको जलस्तर बढेर अझ डुबान र बाढीको समस्या निम्तिने बताए। मनसुन सुरु भएदेखि नै आफूहरुले एनसेलबाट १३ लाख ९१ हजार र एनटिसीबाट ५ लाख ६२ हजार गरेर प्रभावित हुने क्षेत्रहरुमा २० लाख एसएमएस गरिसकेको जानकारी दिए।
विभागले मौसम सम्बन्धी निकाल्ने नियमित बुलेटिनबाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ शतर्क हुन उनको आग्रह छ।