काठमाडौ । अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पनि १० प्रतिशत मात्र सफल हुन थालेका छन् । तीन महिना अघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए ।
नेपालबाट अस्ट्रेलियाको भिसाका लागि औसतमा दैनिक दुई सयसम्म आवेदन पर्ने गरेको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का अनुसार लामो समयसम्म भिसा स्वीकृत वा अस्वीकृत भएको विषयमा जानकारी नदिने र अन्तिममा अस्वीकृत भएको भन्ने सन्देश नयाँदिल्लीस्थित अस्ट्रेलियन हाई कमिसनले पठाउने गरेको छ । प्रक्रिया खुकुलो भएको समयमा निवेदन दिएको एक दिनमै पनि भिसा दिने गरिएको थियो ।
भिसा अस्वीकृत दर बढेसँगै शैक्षिक परामर्श व्यवसायी तथा विद्यार्थी चिन्तित बनेका छन् । इक्यानका अध्यक्ष प्रकाश पाण्डेका अनुसार उच्च योग्यता भएका विद्यार्थीको समेत भिसा अस्वीकृत गरिएको छ ।
गत साउनदेखि यही असारको पहिलो सातासम्म ६१ हजार ६३६ विद्यार्थीले अस्ट्रेलिया जानका लागि नो अब्जेक्सन लेटर लिएका छन् । सोही अवधिमा १६ हजार ३२८ जनाले जापान, पाँच हजार २०१ जनाले क्यानडा, चार हजार ८५२ जनाले अमेरिका र एक हजार १९२ जनाले कोरियाका विभिन्न विश्वविद्यालयमा गएर पढ्न नो अब्जेक्सन लेटर लिएका छन् ।