विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश नम्बर–१ को अध्यक्ष पदका लागि ६ जनाले दाबी गरेका छन्
प्रदेशको अधिवेशन सम्पन्न भई कार्यसमिति चयन भएको छ । तर, अध्यक्षसहितका पदाधिकारी चयन हुनसकेको छैन । आकांक्षी धेरै हुँदा विवाद बढेपछि चयन गर्न कार्यदल गठन गरिएको छ ।
मोरङको विराटचोकमा गएको मंसिर २५ र २६ गते अधिवेशन सम्पन्न भई २७१ सदस्यीय कार्यसमिति चयन भएको थियो । तर, पदाधिकारी चयनमा भने विवाद देखिएको छ ।
माओवादी केन्द्रका अनुसार अध्यक्षमा ६ जनाले दाबी गरेका छन् । यो दौडमा सुनसरीका शिवकुमार डाँगी, पाँचथरका हर्कबहादुर नेम्बाङ (मिक्सो) सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश), उदयपुरका मोहनबहादुर खत्री (हेनरी), झापाका मणिकुमार साम्पाङ र विराटनगरका हेम कार्की (विशाल) छन् ।
नेतृत्व चयन गर्न यही पुस ७ गतेलाई कार्यसमितिको बैठक आह्वान गरिएको छ । पदाधिकारी चयनमा सुझाव दिन बुधबार प्रदेश–१ माओवादीका सहइन्चार्ज तथा केन्द्रीय सदस्य अजम्बर काङमाङको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो ।
माओवादी केन्द्रको विधानानुसार प्रदेश सम्मेलनबाट निर्वाचित भएको कमिटीले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्षसहित नौ सदस्यीय पदाधिकारी चयन गर्ने प्रावधान छ । सर्वसम्मत हुन नसके कार्यसमितिमै मतदान गरेर अध्यक्ष तथा पदाधिकारी चयन हुन सक्ने बताइएको छ ।