काठमाडौं । बङ्गलादेशको राजधानी नजिकैको नदीमा आइतबार मालवाहक डुङ्गा दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने दर्जनबढी हराइरहेको अनुमान गरिएको छ।
प्रहरीले बताएअनुसार एमभी रुपोशी–९ आन्तरिक कार्गोवाहक ढाकाको दक्षिणपूर्वमा मालबाहक अर्को डुङ्गा एमभी अफ्सरुद्दीनसँग ठक्कर खाएपछि शितलक्ष्य नदीमा भएको दुर्घटनामा झन्डै दुई दर्जन मानिसहरू पौडी खेली किनारामा आउन सफल भएका स्थानीयले बताएका छन्।
स्थानीय सञ्चार माध्यमहरूले मानिस र सामानसहित डुबेको दृश्यलाई कैद गरी सामाजिक सञ्जालमा सम्प्रेषित भिडियोमा डुङ्गाबाट हतारहतार प्रदूषित पानीमा कराउँदै मानिसहरू हामफालेको देखिएको छ ।
एक पुरुष, तीन महिला र एक बालकसहित पाँच जनाको मृत शरीर पानीबाट निकालिएको र बेपत्ता रहेका बाँकी मानिसहरूको खोजीमा उद्धारकर्मीहरू जुटेका स्थानीय प्रहरी प्रमुख शाह जमानले बताए ।
उक्त डुङ्गामा ६० जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको र उनीहरूमध्ये २२ जना सकुशल किनारामा आउन सफल भएको प्रहरी निरीक्षक अस्लम मियाले बताए।
जिल्ला प्रशासक मोन्जुरुल हाफिजले तटीय गार्डका कर्मचारी र गोताखोरहरूले उद्धार कार्यमा सहयोग गरिरहेका बताए।
बंगलादेशमा डुङ्गा दुर्घटना हुनुमा साधनको मर्मतसंहारको कमी, कमजोर सुरक्षा प्रणाली र भारबहन क्षमताभन्दा बढी भारी बोक्नुलाई विशेषज्ञहरूले दोषी मान्ने गर्छन्।