नेपाललाई स्विट्जरल्याण्डको ८६ करोड रुपैयाँ सहयोग

न्युजलय २५ जेठ २०७९, बुधबार ०८:१७ मा प्रकाशित

काठमाडौँ । स्विट्जरल्याण्डले नेपाललाई ८६ करोड १३ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । 

अर्थ मन्त्रालयका सहसचिव तथा अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्याल र नेपालस्थित स्विट्जरल्यान्ड दूतावासकी सिल्भाना होगले सहयोग सम्झौता आदानप्रदान गरे । 

सो सहयोग रकम वैदेशिक रोजगारीबाट फर्केका कामदारहरूलाई नेपालमा पुनर्स्थापित गर्न र सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक जीवनमा सक्रिय रूपमा सहभागी गराउनका लागि खर्चिइने छ । सहयोग रकमलाई सरकारको रातो किताबमा समावेश गरी स्थानीय तहमा कार्यान्वयन गरिनेछ ।

सम्झौता आदानप्रदान कार्यक्रममा अर्थमन्त्रालयका अर्यालले वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, पुँजी र अनुभवलाई नेपालको सामाजिक–आर्थिक विकासमा उपयोग गर्न यसले मद्दत पुग्ने बताए ।

त्यस्तै दूतावासकी होगले आप्रवासी कामदारलाई फाइदा पुऱ्याउने नीति र योजनाहरू कार्यान्वयन गर्न नेपाललाई सहयोग गर्न प्रतिबद्ध रहेको बताइन् ।