प्रिमा ग्याँसद्वारा बिक्रेताहरुलाई सिलिण्डर सुरक्षा तालिम

न्युजलय ११ मङ्सिर २०८०, सोमबार १०:२४ मा प्रकाशित

इटहरी । इटहरीस्थित प्रिमा ग्याँस प्रालिले बिक्रेताहरुको लागि सिलिन्डर सुरक्षा तालिम गरेको छ । गत शनिबार ग्याँस सिलिण्डरको सुरक्षित प्रयोगबारे जनचेतना जगाउनका लागि तालिम गरेको हो ।

बिक्रेताहरुमार्फत आम उपभोक्ताहरु ग्यास सिलिन्डरको सुरक्षाबारे सचेत बन्ने अपेक्षा रहेको कम्पनिका प्रबन्धक लक्ष्मण गिरीले जानकारी दिए । हिमालय सेफ्टी सोलुसन प्रालि काठमाडौंका प्रशिक्षक श्यामलाल खनाल तथा कम्पनीका प्राबिधिक कर्मचारीहरुले तालिममा सहजिकरण गरेका थिए । 

कार्यक्रममा कम्पनीका १८७ बिक्रेता, २५ जना कर्मचारीलगायत झण्डै तीन सय जनाको सहभागिता थियो । कम्पनिले आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने गिरीले बताए । 

प्रिमा ग्याँस उद्योगले उपभोक्ताको सुरक्षालाई पहिलो प्राथमिकता दिएको जनाएको छ । पुराना म्याद नाघेका सिलिण्डरहरु नियमित रुपमा नष्ट गर्ने गरेको छ ।