विदेशबाट फर्किएका तीन सय ५० जना २० केजी सुनसहित पक्राउ

न्युजलय १४ मङ्सिर २०७८, मङ्गलबार ०८:१० मा प्रकाशित

काठमाडौँ । विदेशबाट सुन तस्करी गर्ने समूहविरुद्ध भन्सार कार्यालयले अप्रेसन थालेको छ । सोमबार एकैदिन तीन सय ५० जना पक्राउ परेका छन् । 

उनीहरुबाट करिब २० किलो सुन बरामद गरी त्यसको भन्सार तिराइएको छ । गहनाका नाममा तस्करी बढेपछि अप्रेसन थालिएको भन्सार विभागले जनाएको छ ।

यसरी विदेशबाट सुनका गहना ल्याउँदा भन्सारमा स्वघोषणा गर्नुपर्ने प्रावधान छ । ५० ग्रामसम्म गहना बनाएर ल्याउँदा भन्सार तिर्नुपर्दैन । तर, काँचो सुन ल्याउँदा भने भन्सार तिर्नुपर्छ ।

काँचो सुनलाई थोरै पगालेर गहना जस्तो बनाएर ल्याउने र नेपालमा बिक्रि गर्ने गिरोहविरुद्ध भन्सारले कारबाही थालेको हो । जसअनुसार एकैदिन तीन सय ५० भन्दा धेरैलाई नियन्त्रणमा लिई भन्सार महसुल तिराइएको जनाइएको छ । 

खासगरी वैदेशिक रोजगारबाट फर्कने कामदारलाई भरियाका रुपमा प्रयोग गरी यसरी सुन तस्करी हुँदै आएको छ । उनीहरुलाई केही खर्च दिएर ५० ग्राम सुन बोकाउन लगाउने र विमानस्थलमा संकलन हुने गरेको छ ।