कोशी छिर्दै एमालेको अभियान

न्युजलय २६ मङ्सिर २०८०, मङ्गलबार ०५:३२ मा प्रकाशित

विराटनगर । नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मंगलबार कोशी प्रदेश छिर्दै छ । 

सोमबार रामेछाप सदरमुकाम मन्थलीमा रहेको एमाले नेतृत्व मंगलबार उदयपुरको घुर्मी हुँदै कोशी प्रदेश प्रवेश गर्ने भएको हो ।

कोशी प्रदेश नामकरणविरुद्ध आन्दोलन गरिरहेको ‘प्रदेश नम्बर १ पुनः नामकरण सङ्घर्ष समिति’ को कडा चेतावनीकै बीच एमाले कोशी प्रदेशमा अभियान लिएर प्रवेश गर्न लागेको हो । 

एमाले अध्यक्ष केपी ओलिसहित अन्य नेताहरूलाई पहिचानवादी संगठनहरूले कोशीमा निषेध गर्ने घोषणापछि मध्यपहाडी राजमार्ग इलाकामा सुरक्षा व्यवस्था भने कडा पारिएको छ । संकल्प यात्रालाई कोशी प्रदेश प्रवेशमा अवरोध गर्ने पहिचानवादीको तयारीले मुठभेडको सम्भावना बढेपछि एकीकृत सुरक्षा व्यवस्था चुस्त बनाउन प्रदेश सुरक्षा समितिले कार्ययोजनानै बनाएर लागेको छ ।

कार्ययोजना अनुसार तराई इलाकामा रहेका प्रहरीलाई व्यापक रूपमा माथिल्ला पहाडी जिल्लामा खटाइएको छ ।

पहिचानवादीहरूले ओलीसहित एमाले नेता योगेश भट्टराई र महेश बस्नेत तथा कोशी नामकरणको पक्षमा मतदान गर्ने ८२ जना प्रदेशसभा सदस्यलाई कोशीका पहाडी जिल्लामा प्रवेश गर्न नदिने चेतावनी दिँदै आएका छन् । एमालेको मेची–महाकाली मध्यपहाडी यात्राको क्रममा ओली र कोशीको पक्षमा मतदान गर्ने सांसदहरू सहभागी भए अवरोध गर्ने धम्की उनीहरूको छ ।