धनगढी । बडिमालिका क्षेत्रमा दुई जना तीर्थयात्रीको मृत्यु भएको छ । बाजुराको त्रिवेणी नगरपालिका– १ का २३ वर्षीय भरत बूढाको मंगलबार राति र कालिकोटको पलाँता गाउँपालिका–१ का धनप्रसाद न्यौपानेको सोमबार मृत्यु भएको हो ।
बडिमालिका जानेक्रममा बाटोमा बिरामी परेका न्यौपानेको सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।
बाजुरा जिल्ला प्रहरीका अनुसार अक्सिजनको कमीले बेहोस भएका बाजुरा त्रिवेणीका भरत बुढालाई सेनाको दुर्गाभञ्जन गुल्म बाजुराले सञ्चालन गरेको स्वास्थ्य क्याम्पमा उपचार प्रयास गर्दागर्दै मंगलबार राति मृत्यु भएको हो ।
कालिकोट पलाँताका न्यौपाने सोमबार त्रिवेणी क्षेत्रमा लडेर घाइते भएपछि सेनाको हेलिकोप्टरबाट उद्धार गरी सुरुमा जिल्ला अस्पताल बाजुरा ल्याइएको थियो ।
मार्तडीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो । उनको पनि उपचारका क्रममा सुर्खेतमै मृत्यु भएको खबर आएको डीएसपी बोहराले बताए ।
यस्तै, अक्सिजन कम भएर स्वास्थ्य समस्या भएकी कैलालीको अत्तरियाकी ६३ वर्षीया ईश्वरी बोहरोको सेनाको स्वास्थ्य क्याम्पमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन बडिमालिकामा मुख्य पूजाआजा हुने गर्दछ ।