२०७८ साल माघ ६ गते बिहिबार

एमाले उपाध्यक्षमा घनश्याम भूसालको उम्मेदवारी दिने

न्युजलय १० मङ्सिर २०७८, शुक्रबार ०७:५१ मा प्रकाशित
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । उनले सबै पक्षसँगको सल्लाह पछि उपाध्यक्षमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताए ।

यसअघि नेता भूसाललाई उनी निकट नेता तथा कार्यकर्ताहरूले अध्यक्षमा नै उम्मेदवारी दिन सल्लाह दिएका थिए ।

भूसाल निकट नेताहरूका अनुसार भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने भएपछि उनी पछि हटेका हुन् । एमालेको विधानमा चार उपाध्यक्षको व्यवस्था रहेको छ ।

चितवनमा शुक्रबार नेकपा एमालेको १०औं महाधिवेशनको उद्घाटन समारोह सकिएलगत्तै उनले आफू उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यद्यपि उनले औपचारिक घोषणा भने गरिसकेका छैनन्।

शनिबार बन्दसत्र सुरु हुनुअघि नै उनले आफ्नो उम्मेदवारीबारे सार्वजनिक रुपमा घोषणा गर्ने बुझिएको छ । शुक्रबार राति ८ बजे नै एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ ।