विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको बर्खास्तीको माग राख्दै सर्वोच्चमा परेको रिट निवेदन न्यायाधीश सपना मल्ल प्रधानको इजालसमा परेको छ ।
कोशी प्रदेश नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले असंवैधानिक तरिकाले प्रदेशमा मुख्यमन्त्री नियुक्त गरिएकाले त्यसलाई बदर गर्न रिटमार्फत माग गरेका छन् ।
यस्तै उनले संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश माग गरेका छन् ।
लगातार तीन दिन पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा राखिएको उक्त मुद्दा आज न्यायाधीश सपना मल्ल प्रधानको इजलासमा परेको छ । मल्लको इजलासको १८औं नम्बरमा परेको मुद्दा आज भने खाजापछि हेरिने सूचीमा परेको छ ।
एमालेले नेपाली कांग्रेस कोशी संसदीय दलका नेता थापाले सभामुखसमेतलाई जोडेर दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख बाबुराम गौतम र नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई विपक्षी बनाएर रिट दायर गरेको छ ।