टेलिकमको हराएका रिचार्ज कार्डबाट पैसा नआउने

न्युजलय २४ साउन २०८०, बुधबार ०६:५२ मा प्रकाशित

काठमाडौं । नेपाल टेलिकमले काठमाडौंबाट भैरहवा पठाउने क्रममा करिब २० हजारथान रिचार्ज कार्ड हराएको छ ।

करिब दुई साताअघि ढुवानी कम्पनीमार्फत पठाइएका ५० रुपैयाँ दरका रिचार्ज कार्ड हराएको टेलिकमले जनाएको छ ।

तर, यी रिचार्ज कार्ड टेलिकमको सिस्टममा इन्ट्री नभइसकेका कारण रिचार्ज गरेमा पैसा नजाने टेलिकमले जनाएको छ ।

टेलिकमको वायरलेस सेवा निर्देशनालयका अनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका नमस्ते ब्रान्डका रिचार्ज कार्ड हराएका हुन् ।

ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिद गर्न नहुने बताइएको छ ।

सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड खरिद–बिक्री नगर्न निर्देशनालयले ग्राहक तथा वितरकलाई आग्रह गरेको छ ।

यी सिरियल नम्बर भएका रिचार्ज कार्ड कतै भेटिएमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाउन पनि निर्देशनालयले आग्रह गरेको छ ।