इथाम्सः अग्निस्नान

न्युजलय २६ बैशाख २०८३, शनिवार १२:०० मा प्रकाशित

कुराकानी गर्दागर्दै वसुधा र लखाभद्रा नगरको एक फन्को मारेर इन्द्रचोक पुगे । 

त्यहाँ इन्द्रजात्राको लिङ्गो तयार गर्ने काम भइरहेको थियो । लिङ्गो ताछ्न र त्यसलाई चिल्लो बनाउन गुभाजु, तान्त्रिक र स्थानीय वृद्धहरु खटिएका थिए । कोही लिङ्गोमा झुन्ड्याउने मङ्गलसूचक चिह्नअङ्कित ध्वजापताका तयार गर्दै थिए । केही लिङ्गो सजाउन जङ्गली वनस्पतिको धूलो पकाएर रङ बनाउँदै थिए । 

भाद्र शुक्ल द्वादशीका दिन विधिपूर्वक लिङ्गो ठड्याएपछि जात्राको शुभारम्भ हुन्थ्यो । लिङ्गो ठड्याउने कामलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्थ्यो । त्यसका लागि विशेष मन्त्रहरु रचना गरिएका थिए । ती मन्त्र गाउन एक से एक गायक तयार थिए । उनीहरुले जल मात्र सेवन गरी एक महिना व्रत बस्नुपथ्र्याे, जसलाई ‘योसीं’ भनिन्थ्यो । लिङ्गो ठड्याएपछि हर्षाेल्लासका साथ जात्रा प्रारम्भ हुन्थ्यो । 

इन्द्रध्वजोत्थानको त्यही शुभसाइतमा वसुधाले आत्मदाह गर्ने निर्णय गरेकी थिई । 

इन्द्रचोक पुगेर वसुधाले आफूले अग्निस्नान गर्न छनोट गरेको स्थान गहिरोसँग हेरी । उसले केही विचार गरी र लखाभद्रातिर फर्किएर भनी, “जब धिमे बज्न सुरm हुनेछ, त्यही क्षण म पवित्र अग्नि प्रज्ज्वलित गर्नेछु । जब लाखे, पुलुकिसी, देवी प्याखंले अमरावतीका सारा प्रजालाई आनो नृत्य र सङ्गीतको लयमा आबद्ध गर्नेछन्, ठीक त्यही वेगवान् समयमा म आनो शरीरमा अग्नि आवृत गर्नेछु । र मेरो शरीर अग्निमा जल्दै गर्दा म त्यहाँ उपस्थित राजा कामदेव र उसको भाइ शुभकामदेवलाई उनीहरुको राजकाज नष्ट हुने श्राप दिनेछु ।” 

“कति भयानक कल्पना हो यो । प्रिय कुमारी वसुधा, यस्तो कल्पना नगर्नुहोस् । म सहन सक्दिनँ ।” हिँड्दा–हिँड्दै थचक्क बसेर लखाभद्राले एकोहोरो वसुधाको अनुहार हेर्न थाली । त्यो समय ऊ आफूलाई निकै दयनीय र कमजोर अनुभव गरिरहेकी थिई । 

तर वसुधा भने आनै मृत्युचिन्तनमा थिई । उसले भनी, “सुन लखा, जीवनका विषयमा धेरै चिन्ता नगर । किनभने यो आफैंमा एक मायाजाल हो । धरती मायाजाल हो । सूर्य, चन्द्रमा र ग्रहहरु सबै मायाजाल हुन् । दिनमा चल्ने सिरसिर हावा, नभमा झुल्किएका सप्तर्षि तारा र ब्रह्माण्डको अनन्त गहिराइ सबै मायाजाल हुन् । सत्य हो मृत्यु । सत्य हो सङ्कल्प ।” 

ऊ एकछिन रोकिई । खासमा उसले किन यी शब्द भनी, उसैलाई थाहा थिएन । आनो कल्पनाको अनन्त गहिराइबाट हेरेझैं उसले लखाभद्रातिर हेरी र भनी, “लखा, युद्ध सजिलो कुरा होइन । यो भयानक नै हुन्छ, प्यारी । तर जतिसुकै भयानक भए पनि म आनो निजत्वलाई बचाउन र नारी स्वतन्त्रताको सन्देश संसारलाई सुनाउन यो युद्ध लड्नेछु ।” 

लखाभद्राले सम्झाउँदै भनी, “कुमारी वसुधा, संयमता जीवनको ठूलो गहना हो ।” 

“नारीले मात्र संयम हुनुपर्ने के छ ?” वसुधाले संयम शब्दलाई यसरी उच्चारण गरी, मानौं, त्यस शब्दप्रति उसलाई घृणा छ । एकछिन शान्त उभिएर उसले वरिपरि नियाली र भन्दै गई, “संयमताको अर्थ र महङ्खव म जान्दछु, प्रिय लखा । तर संयमतालाई म मेरो कमजोरी बनाउन चाहन्नँ ।”

लिङ्गो बनाइरहेको ठाउँमा झरेको काठको सानो टुक्रा उठाएर उसले एकछिन त्यसैलाई हेरी । र लखातर्फ फर्कंदै भनी, “म प्रेमका नाममा प्रेमिकाको अस्तित्वमाथि हुने अपमान अस्वीकार गर्छु, लखा । म चाहन्छु, दुवै प्रेमी र प्रेमिका यसरी प्रेममा एकाकार होऊन्, जोसँग आफू हुनुको बोध समाप्त होओस् र स्वयम् एक बनून् । तर जब त्यो एकात्मकता अपमानमा बदलिन्छ, त्यो अपमान स्वीकार गर्नु मेरा लागि संयमता होइन । म अपमान सहन अस्वीकार गर्छु । त्यसैले प्रत्येक नारीको अस्तित्व र गौरवका लागि विद्रोह गर्न चाहन्छु । म धरतीका प्रत्येक नारी बहादुर छन् भन्ने स्थापित गर्न चाहन्छु । म यो सन्देशलाई स्थापित गर्न चाहन्छु कि, प्रत्येक नारीका लागि अपमानभन्दा मृत्यु प्रिय छ । सुन लखा, हामी नारीले आनो स्वतन्त्रता र स्वाभिमानका लागि एउटा युद्ध त लड्नैपर्छ ।” 

“तर मृत्यु हार हो, कुमारी ? हार्ने निश्चित भएकाले युद्ध किन लड्ने ?”

“हार्नु र जित्नुलाई सरल अर्थमा नबुझ, लखा । कुनै युद्धमा मृत्यु स्वयम् जित हुन्छ ।” 

“कुमारी, आज तपाईं किन अनौठो कुरा गर्दै हुनुहुन्छ ?”

वसुधाले समातिराखेको काठको टुक्रा थोरै परसम्म फाली र लखाभद्राको प्रश्नमाथि विचार गर्न थाली । उसलाई लाग्यो, उसले आनी प्रिय सेविकालाई त्यो कुरा भन्नुपर्छ, जसले ऊभित्रको द्विविधा शान्त गरोस् । उसले दृढतासाथ भनी, “म सत्य कुरा गर्दै छु, लखा । सत्य हो, मभित्र द्रोहको अग्नि दन्कँदै छ । तिमी नै भन, फगत स्तनको एउटा कालो दागले प्रेम र निष्ठाको मानमर्दन हुन्छ भने एउटी नारीका लागि योभन्दा ठूलो अपमान के हुन्छ ? त्यसैले मैले यो अपमान सहन इन्कार गर्ने निर्णय गरेकी हँु । म ती सबै बलात्कारी, दुराचारी र चरित्रहीन पुरmषहरुको नकाब च्यातेर अनुहार देखाउन चाहन्छु, जसले प्रेमी बनेर स्त्रीहरुको अस्तित्वलाई अवमूल्यन गरेका छन् । म बदला लिन चाहन्छु, लखा । म यस्तो बदला लिन चाहन्छु, जसको चोटले प्रत्येक दुराचारी समाज, सभ्यता र संस्कार झस्किनेछ, भत्किनेछ र समाप्त हुनेछ ।” 

लखाभद्राले सुस्केरा हाली र भनी, “कुमारी अब पुग्यो । यो कुरा यहीँ अन्त्य गरौं ।” 

तर वसुधा आनै लयमा बोल्दै गई, “सबैले आनो प्रतिज्ञाका लागि मृत्यु नै रोज्नुपर्छ भन्ने छैन, लखा । मैले मत्यु रोजें, अरु कसैले जीवन रोज्ला । म चाहन्छु, जीवन र मृत्यु दुवैतिरबाट हामी स्त्रीहरु यो युद्ध लड्न सकौं ।” 

“हिँड्नुहोस्, कुमारी, घर जाऔं । म थाकें ।” 

लखालाई समातेर आफूतिर तान्दै वसुधाले भनी, “एकछिन सुन, लखा । मेरो आत्मदाहपछि नगरभर होहल्ला हुनेछ । सायद त्यसपछि नाचगान, रथयात्रा र देवीदेवताका पूजाआजा सबै रोकिनेछन् । मेरो मृत्युपछि लाखे, पुलुकिसी र देवी प्याखं नाच्नेहरु सबै विस्मयमा पर्नेछन् । श्वेतभैरवको विशाल मुखबाट निरन्तर प्रवाहित मधुपान रोकिनेछ । यँलाथ्व चतुर्दशीका दिन गरिने क्वहने याः उत्सव रोकिनेछ र रोकिनेछन् कुमारी, भैरव र गणेशका रथयात्रा पनि । त्यसपछि हाथु द्यःको दर्शन कसैले गर्नेछैन । न त नखते आयोजना हुनेछ, न त कसैले समयबजी खानेछ । नगर शोकमा डुब्नेछ । मेरो मृत्युको भयानक दृश्य देखेर शुभकामदेव अवसादमा पर्नेछ । मेरो आत्मदाह सारा अमरावतीमा एक सन्देश बनेर फैलिनेछ, लखा । त्यसपछि यहाँ कुनै पनि प्रेमीले आनी प्रेमिकालाई अपमान गर्नेछैन । र अमरावतीमा प्रेमको अमरत्व स्थापित हुनेछ ।” 

यति भनेर वसुधा एकैछिन इन्द्रचोकमा उभिई । र सरासर सरोवरतिर लागी । 

लखाभद्रा उसलाई पछ्याउँदै पछिपछि हिँडी ।

(यो केशव दाहालद्धारा लिखित उपन्यास इथाको पुस्तकांश हो । उपन्यास इथा को गृहविमोचन र पुस्तक चर्चा आगामी जेठ ९ गते दुर्गा पार्टी प्यालेस इटहरीमा हुँदैछ । जसलाई इटहरीमा क्रियाशील कला, साहित्य, संगीत र सामाजिक क्षेत्रसँग सम्बद्ध विभिन्न संस्थाहरूले संयुक्त रूपमा आयोजना गर्नेछन् ।)