काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको आवश्यक सुरक्षा व्यवस्थासहितको तयारी कार्य पुरा गरेको जनाएको छ । साथै आयोगले निर्वाचनका लागि प्रचार प्रसार काम बन्द गर्न आव्हान समेत गरेको छ ।
यही माघ ११ गते हुने मतदानका लागि निर्वाचक मण्डलको सदस्य रहेका प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई मतदाताको रूपमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएका मतदान स्थल तथा मतदान केन्द्रहरूमा मतदान गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
आयोगका अनुसार निर्वाचनको सबै तयारी पुरा भएको र माघ ८ गते सोमबार राती १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म प्रचार प्रसारका कार्यहरू बन्द गरिएको छ ।
निर्वाचनमा प्रदेश सभाका सदस्यहरूका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरूको व्यवस्था गरिएको आयोगले जनाएको छ ।